दफा ३१क
प्रशासकीय पुनरावलोकनको लागि निवेदन दिन सक्नेः
(१) कर अधिकृतले गरेको कर निर्धारणको निर्णय उपर चित्त नबुझ्ने व्यक्तिले त्यस्तो निर्णयको सूचना पाएको मितिले तीस दिनभित्र त्यस्तो निर्णय विरुद्ध महानिर्देशक समक्ष निवेदन दिन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम निवेदन दिने म्याद गुज्रिन गएमा त्यस्तो म्याद गुज्रेको मितिले सात दिनभित्र म्याद गुज्रिन गएको कारण खोली म्याद थपको लागि महानिर्देशक समक्ष निवेदन दिन सक्नेछ र त्यस्तो निवेदनमा उल्लिखित कारण मनासिब देखिएमा महानिर्देशकले म्याद गुज्रेको मितिबाट तीस दिनको म्याद थप गर्न सक्नेछ ।

(३) करदाताको उपदफा (१) बमोजिम परेको निवेदन उपर छानबिन गर्दा निवेदकको जिकीर सत्य देखिन आएमा स्पष्ट कारण खोली पर्चा खडा गरी महानिर्देशकले त्यस्तो कर निर्धारण आदेश बदर गरी पुनः कर निर्धारण गर्न सम्बन्धित कर अधिकृत वा अन्य कुनै कर अधिकृतलाई आदेश दिन सक्नेछ ।

(४) उपदफा (१) बमोजिम निवेदन परेको मितिले साठी दिनभित्र त्यस्तो निवेदन उपर महानिर्देशकले निर्णय दिनु पर्नेछ ।

(५) उपदफा (४) बमोजिमको म्यादभित्र महानिर्देशकले निर्णय नदिएमा सम्बन्धित व्यक्तिले दफा ३२ बमोजिम राजस्व न्यायाधिकरणमा पुनरावेदन दिन सक्नेछ ।

(६) उपदफा (१) बमोजिम निवेदन दिने करदाताले निर्धारित कर रकममध्ये विवादरहित कर रकम बुझाई विवादित कर रकमको एकचौथाई रकमदाखिला गर्नु पर्नेछ ।

(७) उपदफा (६) बमोजिम दाखिला गर्नुपर्ने रकम निवेदन दिनुभन्दा अगाडि नै बढी दाखिला गरेको रहेछ भने त्यस्तो रकमले खामेसम्मको रकम कटाई बाँकी रकम मात्र दाखिला गर्नु पर्नेछ।

(८) यस दफा बमोजिम दाखिला गरेको रकम मुद्दाको अन्तिम किनारा नलागेसम्म फिर्ता हुने छैन ।